टिपटप हेल्प नेपाल उपाधि नजिक महिलातर्फको फाईनल समिकरण रोमाञ्चक
एनओसी , खेलकुद , भलिबल ,
हेल्प नेपाल क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधि नजिक पुगेको छ । मंगलवार हेल्प नेपालले आर्मी बिरुद्ध उत्कृष्ट प्रदर्शन गदै ३–० को सोझो सेटमा हराए पछि फाईनलको यात्रा निश्चित गरेको हो । भारतीय ३ खेलाडी रहेको हेल्प नेपालले आर्मीमाथी २५–१७, २५–१९ र २५–१६ को सहज जित निकाल्यो । प्रतियोगितामा अपराजित रहेका हेल्प नेपालको ५ खेलबाट १५ अंक रहेको छ । पुरुषतर्फकै अर्को खेलमा पुलिसले एपीएफमाथी ३–२ को कठिन जित निकाल्यो । पुलिसले लगतार २५–२१ र २५–२३ ले दुई सेट जिते पछि म्याच जित्नका लागि पाँचौ सेट कुर्नु परेको थियो । एपीएफले लगातार २५–२० र २५–१७ ले तेश्रो र चौथो सेट जिते पछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । निर्णायक सेटमा पुलिसले १५–१३ ले जितेपछि खातामा २ अंक जोड्दा एपीएफले १ अंक हाँसिल गर्यो । हारका बावजुद दोश्रो स्थानमा रहेको एपीएफले ५ खेलबाट १० अंक बनाएको छ । पुलिस र आर्मीले समान ५ खेलबाट समान ९ अंक जोडेका छन् ।
त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा ह्वङ्गवान्जी न्यू डायमण्डले पुलिसमाथी २५–२२, २५–२२ र २५–१६ को सोझो सेटमा हराए पछि महिलातर्फको फाईनल समिकरण भने रोमाञ्चक बनेको छ । बुधवारको खेलबाट दुई टिम तीन प्रकारको समिकरणको माध्यमबाट फाईनल प्रवेश गर्न सक्नेछन् । अर्थात प्रतियोगितामा न्युडायमण्ड,एपीएफ,पुलिस र आर्मी चारै टिम फाईनलका दावेदार हुन् । यदपी ४ खेलबाट १० अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको न्युडायमण्डका लागि फाईनलको यात्रामा चिर प्रतिद्धन्द्धी एपीएफ बाधक बनेको छ । भरतपुर मेट्रो क्लबलाई २५–१३, २५–७ र २५–९ को सोझो सेटमा पराजित गरेर अंक तालिकामा १० बनाएको एपीएफका लागि पनि न्युडायमण्ड बाधक छ । पुलिस र आर्मी पनि गर या मरको अवस्थामा बुधवार कोर्टमा आमुन्ने सामुन्ने हुनेछन् । दुवै टिमलाई फाईनल प्रवेशका लागि स्पष्ट ३ अंक आवश्यक पर्छ । यदि न्युडायमण्ड र एपीएफको खेलमा अंक बिभाजन भए अंक तालिका १२ र ११÷११ को समिकरणमा पुग्दा सेट जोड घटाउको अवस्था आउछ । न्युडायमण्ड र एपीएफबीचको खेलमा स्पष्ट ३ अंक प्राप्त गर्ने टिम सहजै फाईनल प्रवेश गरे पनि पुलिस र आर्मीले अंक बाढेको खण्डमा समान १० अंक भएका दुई टिमबीच सेट जोड घटाउको समिकरण लागू हुन्छ । यो परिस्थितिमा पुलिस र आर्मी दुवै टिम प्रतियोगिताबाट बाहिरिन सक्ने अवस्था आउन सक्छ । महिलाको फाईनलको यात्रा तीन समिकरणबाट खुला भएकाले रोमाञ्चक बनेको हो ।