आरसिटीलाई हराउदै सातदोबाटो युथ क्लबले उपाधि चुम्यो
खेलकुद , फुटबल ,
दुई खेलअघि नै उपाधि निश्चित गरेको सातदोबाटो युथ क्लब लिगको अन्तिम खेलमा कुनै दवावमा थिएन् । यदपी लिग च्याम्पियन पश्चात पनि विजय यात्रालाई यथावत राखेर आरसीटीसँगको प्रतिस्पर्धालाई आफ्नो पक्षमा पार्ने रणनीति बनाएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मल्दिना आङ्थुपोको एक मात्र गोल जितका लागि निर्णयक बन्यो । उनले दोश्रो हाफको ६७ औं मिनेटमा गरेको गोलले आरसीटीलाई १–० ले स्तब्ध बनाए पछि सातदोबाटो युथ क्लबले सिजनको सुखद अन्त्य गरेको थियो ।
लिग विजेता सातदोबाटो युथ क्लबले उत्कृष्ट प्रदर्शन गदै २८ अंक जोड्न सफल भयो । उसले ११ खेल मध्य ९ खेलमा जित १ वरावरी र १ खेलमा हार ब्यहोरेको थियो । आफ्नो अन्तिम खेलमा पराजित भएको आरसिटीले आठौं स्थानमा रहदै ११ खेलबाट १३ अंक मात्र जोड्न सफल भयो ।
प्रतियोगिताको उपाधि विजेता सातदोबाटो युथ क्लबले नगद पुरस्कार १५ लाख साथै आकर्षक ट्रफि हात पारेको छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबले नगद १० लाख सहित आकर्षक ट्रफि हात प्राप्त गर्दा तेश्रो स्थानमा रहेकोे बाँसबारी क्लबले ८ लाख र चौथो स्थानमा रहन सफल ब्वाइज युनियनले ५ लाख हात पारेका छन् ।
प्रतियोगितामा आफ्नो जिम्मेवारीलाई बखुवी निभाउन सफल सातदोबाटो युथ क्लबलका दिनेश राई उत्कृष्ट मिडफिल्डर चुनिए । उनले नगद २५ हजारका साथ आर्कषक ट्रफि प्राप्त गरे । टिमलाई उपाधि जिताउन मैदान बाहिरबाट नायकको भूमिका निभाउने सातदोबाटोका कोच सनोज श्रेष्ठले उत्कृष्ट प्रशिक्षकको उपाधि जित्न सफल भए । प्रशिक्षक श्रेष्ठले पनि नगद २५ हजार सहित आर्कषक ट्रफि हात पारे । त्यस्तै बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर, खुमलटारका सविन केसी उत्कृष्ट फरवार्ड र खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलरक्षकको उपाधि जिते । बिधागत अन्य उत्कृष्ट खेलाडीले पनि नगद २५ हजार सहित आर्कषक ट्रफि हात पारे
बि डिभिजनका १२ क्लबबीच भएको प्रतिस्पर्धाबाट च्याम्पियन बनेको सातदोबाटोे युथ क्लब ए डिभिजनमा बढावा हुदा बि डिभिजनको पुच्छरमा रहेको पुल्चोक स्पोर्टिङ क्लब रेलिगेसनमा पदै सी डिभिजनमा घटुवा भएको छ ।
विजेता टिम तथा खेलाडीलाई प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीले पुरस्कृत गरका थिए ।