प्रथम बागमती प्रदेश खेलकुद
खेलकुद
मकवानपुरले प्रथम खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको उपाधि हात पारेको छ । आइतबार भएको फाइनल खेलमा ललितपुरलाई ट्राइवेकरमा ३–० गोल अन्तरले हराउदैं मकवानपुरले उपाधि चुमेको हो ।
ललितपुरले खेल प्रारम्भ भएको चौथौं मिनेटमा विक्की महर्जनको गोलबाट अग्रता लिएको थिए । ललितपुरको अग्रता लामो समय टिकाउन सकेन । मकवानपुरका ललित चौलागाईले सातौं मिनेटमा गोल फर्काए पछि खेल १–१ गोलको बराबरीको अवस्थामा फर्कियो । घरेलु टोली मकवानपुरलाई समिरराज थोकरले ३६औं मिनेटमा आकर्षक गोल गदै २–१ को अग्रता दिलाए । मकावानपुरको अग्रतालाई ६४औं मिनेटमा रोहित गिरीले भंग गरे । उनले कप्तान बसन्त गुरुङको पासलाई सदुपयोग गदै डिबक्स भित्रबाट गरेको कडा प्रहारले जाली चुम्दा खेल पूनः २–२ गोलको अवस्थामा फर्कियो । मकवानपुरका फरवार्डमाथी ८१ औं मिनेटमा फाउल खेलेपछि दोश्रो पटक पहेलो कार्ड खाएका ललितपुरका अनिल महर्जन मैदानबाट बाहिरीन बाध्य भए । मकवानपुरले १० खेलाडीमा समेटिएको अवस्थालाई सदुपयोग गर्न नसक्दा खेल २–२ बराबरीमा सकिए पछि खेल टाईब्रेकरमा लम्कियो ।
ललितपुरका निराजन महर्जनको प्रहार मकवानपुरका गोल रक्षकले रोक्न सफल भए भने रोहित गिरी र बिक्की महर्जनको प्रहार आकासियो । मकवानपुरका तीनै प्रहारले जाली चुमे पछि मकवानपुरले ३–० गोल अन्तरले उपाधि उचालेको थियो । मकवानपुरका लागि अमित श्रेष्ठ,सोमराज ठाकुर र संजिव परियारले गोल गरेका थिए ।
उपाधि विजेता तथा उपविजेतालाई नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीलगायतले पुरस्कृत गरेका थिए ।
उपाधि विजेता मकवानपुरले शिल्ड, एक लाख नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता ललितपुरले शिल्ड, ८० हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
चैत २९ गतेदेखि सुरु फुटबलमा १३ जिल्लाले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष ५४ केजीमुनि काभ्रेका रोशन केसी, ५८ केजीमुनि काभ्रेका सरोज मगर, ६३ केजीमुनि नुवाकोटका प्रवीन वाइबा, ७४ केजीमुनि काठमाडौंका विप्लव नेगी लामा, ८७ केजीमुनि चितवनका अमन थापा मगर र ८७ केजीमाथि चितवनका सौरव सिंहले स्वर्ण जिते ।
महिलाको ४६ केजीमुनि चितवनकी आयुष्मा चौधरी, ४९ केजीमुनि चितवनकी स्नेहा परियार, ५३ केजीमुनि सिन्धुपाल्चेककी अन्जली तामाङ, ६७ केजीमुनि नुवाकोटकी प्रिजना राई, ७२ केजीमुनि नुवाकोटकी पवित्रा राई र ७२ केजीमाथि चितवनकी नमिता गौलीले शीर्ष स्थान कब्जा गरे ।
पुम्सेको एकलतर्फ पुरुषमा मकवानपुरका राम गोले र महिलामा रामेछापकी सन्ध्या लामा पहिलो भए । पेयरमा मकवानपुरका लक्ष्मण गोले र कविता राईले स्वर्ण जिते ।
पुरुष टिममा चितवनका आशिष सुवेदी, अब्बास अन्सारी र सौरव अधिकारी पहिलो बने । सोही स्पर्धाको महिलामा काठमाडौंका स्मृति नेपाली, रंगिला रोका र दीक्षा राईको टोलीले स्वर्ण चुमे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा काठमाडौंका धर्म महर्जन पहिलो भए । उनले ३५ मिनेट १२।७९ सकेन्डमा दौड पूरा गरे । उक्त स्पर्धाको महिलामा सिन्धुपाल्चोककी नितु तामाङ ४५ मिनेट १६।३ सेकेन्ड समयसाथ पहिलो भइन् ।
पुरुष १ हजार ५ समय मिटर दौडमा ४ मिनेट २१।२ सेकेन्ड समय निकाल्दै ललितपुरका विकेश घिमिरेले स्वर्ण हात पारे । सोही स्पर्धाको महिलामा रामेछापकी निर्मली माझी पहिलो भइन् । निर्मलीले ५ मिनेट ५५।७ सेकेन्ड समय खर्चिन् ।
सटपुटको पुरुषमा चितवनका ललित राउत तथा महिलामा सिन्धुलीकी प्रमिला माझीले शीर्ष स्थान हात पारे । ललितले १०।५६ मिटर तथा प्रमिलाले ८।१० मिटर फाले । पुरुष १ सय मिटर दौडमा मकवानपुरका गौरव मोक्तानले स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न ११।५८ सेकेन्ड समय लगाए । त्यसै स्पर्धाको महिलामा १३।१४ सेकेन्ड समय खर्चेकी ललितपुरकी लुजला अमात्य पहिलो भइन् ।
हाइजम्पको पुरुषमा सिन्धुलीका रोशनकुमार दनुवार तथा महिलामा चितवनकी मिना कुमालले बाजी मारे । रोशनले १।७२ मिटर तथा मिनाले १।३० मिटर उचाईं नाघे ।
पुरुष ४ सय मिटर दौडमा चितवनका अमृत बोट पहिलो भए । उनले ५३।२८ सेकेन्डमा दौड सकाए । उक्त स्पर्धाको महिलामा ललितपुरकी रोजिना दुलाल पहिलो बनिन् । रोजिनाले १ मिनेट ०६।६६ सेकेन्डमा दौड पूरा गरिन् ।