निमित्त सदस्य सचिव थापालाई एनओसीको स्वागत
एनओसी
चीनको हाङचोउमा संचालन हुने १९ औं एशियाली खेलकुद र चिल्ड्रेन गेम ओफ एसिया इन्टरनेशनल प्रतियोगिताका बारेमा छलफल गर्न नेपाल ओलम्पिक कमिटि(एनओसी) पुगेका राष्ट्रिय खेलकुद परिषद (राखेप) का निमित्त सदस्य सचिव कुलबहादुर थापालाई नेपाल ओलम्पिक कमिटीले स्वागत गरेको छ । सातदोबाटो स्थित कार्यलयमा एनओसीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले निमित्त सदस्य सचिव थापाको सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
नव नियुक्त सदस्य सचिव थापालाई बधाई दिदै राखेपका पूर्व सदस्य सचिव समेत रहेका श्रेष्ठले नेपाली खेलकुदका दुई सर्वोच्च निकाय एनओसी र परिषद्बीच सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।
निमित्त सदस्य सचिव थापाले नेपाली खेलकुदको विकास र विस्तारका लागि राखेप र एनओसीबीच सहकार्य अपरिहार्य रहेको धारणा ब्यक्त गरेका थिए । उनले भने हामीले राष्ट्रिय टिमको तयारी सुरु गर्ने निर्णय गरेका छौं , अब नेपाली खेलकुद चलायमान हुन्छ ।
बधाई तथा स्वगत कार्यक्रम पश्चात राखेप र एनओसीबीच चिल्ड्रेन गेम ओफ एसिया इन्टरनेशनल र १९ औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई लिएर प्रारम्भिक छलफल भएको थियो । प्रतियोगितामा सहभागी हुने खेल र खेलाडीको संख्या पहिले निर्धारण गर्नेबारे छलफल भएको थियो । यस्तै नेपालले सहभागिता जनाउने खेलाडीको उत्कृष्ट प्रर्दशनका सम्भावना बारेमा पनि छलफल भएको थियो । प्रतियोगिता चीनको हाङचोउमा सेप्टेम्बर १० देखि २५ सम्म हुनेछ ।
छलफलमा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य, सचिब रामजी बहादुर श्रेष्ठ र सदस्य रमेश सिवाकोटी पनि सहभागी थिए ।